पसिना गन्हाउँछ ? सजिलो छ उपाय 'महंगो साबुन नै चाहिँदैन'

गर्मीको बेला कामधन्दा र दौडधूप गर्दा मात्र होइन, चुप लागेर त्यसै बसिरहँदा समेत खलखली पसिना आउँछ । पसिना आउनु स्वास्थ्यका लागि फाइदाजनक पनि मानिन्छ । तर कतिपयको पसिना डुङ्डुङ्ती गन्हाउने भएकाले उसलाई फाइदा भएपनि वरपर बस्नेलाई चाहिँ सहिनसक्नु बनाउँछ ।‘कतिपयको शरीरबाट आउने पसिना लगायतको गन्धले एक अर्कालाई आकषिर्त गर्छ भनेर पनि भनिन्छ, कतिपयको शरीरको गन्धले साथीहरू नै भाग्न सक्छन्’ जनस्वास्थ्य सम्बन्धी जानकार डा. अरुणा उप्रेती भन्नुहुन्छ-’मुख गन्हाउने वा जसको शरीरबाट दुर्गन्ध आउँछ उसलाई थाहा हुँदैन । तर, सँगै बस्ने, सँगै हिँड्ने र गाडीमा कोच्चिएर बस्नु पर्दाको सहयात्रीलाई त त्यो दुर्गन्ध मर्नु बराबर हुन्छ ।’
दुर्गन्ध हटाउने सबभन्दा राम्रो उपाय शारीरिक सफाइ नै भएको उहाँको भनाई छ । उहाँका अनुसार सफाइका लागि महँगो साबुनको जरूरत पर्दैन । साधारण खालको नुहाउने साबुन र पानी नै पर्याप्त हुन्छ । तर, बढी पसीना आउने ठाउँ जस्तै-काखी, फिलाको काप आदिमा बढी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ‘पसिना आफैंमा गन्धरहित हुन्छ, तर जब त्यो पसीनामा कीटाणु मिसिन्छन् अनि गन्हाउन थाल्छ’ डा. उप्रेती भन्नुहुन्छ-’ शरीर कतिपटक सफा गर्नुपर्छ भन्ने कुरा चाहिँ व्यक्तिको शारीरिक श्रम र मौसममा पनि भर पर्छ । कुनै-कुनै बेला दिनको दुई-तीन चोटि सफा गर्नुपर्ने हुन्छ ।’
पटकपटक नुहाएपनि लुगा फेरिएन भने गन्हाउने समस्या उस्तै हुन्छ । ‘कतिपय व्यक्तिहरू पटक-पटक नुहाउँछन्, तर फेरि पसिनाको गन्ध भएको लुगा लगाउँछन् । यस्ता व्यक्तिहरू जति नुहाए पनि गन्हाउँछन्’ उप्रेतीको जोड छ-’विशेष गरी भित्री लुगा त दिनदिनै फेर्नु र धुनुपर्छ । त्यसमाथि पनि शरीर बढी गन्हाउनेले त प्रत्येक पटक नुहाएपछि भित्री लुगा त फेर्नैपर्छ ।’
डा. उप्रेतीका अनुसार सकेसम्म लुगा सुतीकै लगाउनु राम्रो हुन्छ । यदि लामो यात्रामा जानु छ भने र सुतीको लुगा असजिलो जस्तो लागेमा अन्य खालको लुगा लगाएर गन्तव्यस्थलमा पुग्नेबित्तिकै लुगा फेरिहाल्नुपर्ने उहाँको सुझाव छ ।
यस्तै धेरै गन्ध आउने मानिसहरूले नुहाइसकेपछि कागतीले पसीना आउने काप, काखी र गर्दन पछाडिको भागहरूमा दल्नु उचित हुन्छ । यसैगरी नुहाउने पानीमा कागतीको रस वा गुलाबजल हालेर शरीर पखाल्दा पनि केहि हदसम्म शारीरिक दुर्गन्धबाट बच्न सकिने डा. उप्रेतीको भनाई छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस