२०७० साल ११ महिना को मात्र हुने

वर्षमा १२ महिना हुन्छ र ३६५ दिन। हरेक चार वर्षमा एक दिन थपेर ३६६ दिन हुने कुरा पनि सामान्य नै हो। तर वर्षमा ११ महिना ? एक महिना पूरै गायब ! कस्तो होला ?
नेपालमा पर्व सुधार गर्न ०६३ मंसिर ८ गते मन्त्रिपरिषद्ले गठन गरेको कार्यदलले सरकारलाई ०६६ को चैत हटाई ११ महिनाको वर्ष लागू गर्न सुझाव दियो। तर यो ज्योतिषको सैद्धान्तिक गणितीय, धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराविरुद्ध भएको आरोप लगाउँदै पञ्चाङ्ग निर्णायक समितिसँग नजिक रहेका स‌ंस्थाहरु आन्दोलनमा उत्रिएर राष्ट्रपतिलाई समेत गुहारे। माओवादी सरकारले परम्परा नष्ट पार्न खोजेको आरोप लगाइए। अन्ततः २०६६ साल १२ महिना कै भयो।
तर अहिले फेरि ११ महिने पात्रोको चर्चा चलेको छ। २०७१ सालको पात्रो ११ महिनाको गर्ने तयारी भइरहेको र यसका लागि सरकारले पञ्चाङ्ग निर्णायक समितिलाई पुनर्गठन गरेको आरोप छ। सरकारको यो कदमको विरोध गर्न फेरि पनि संगठनहरु जुर्मुराएका छन्। यसका लागि नेपाल ज्योतिष परिसदले एक संघर्ष समिति गठन गर्ने विज्ञप्ति परिषद अध्यक्ष डा. लोकराज पौडेलले जारी गरिसकेका छन्। खासमा ११ महिने पात्रो बनाउने र नबनाउनेमा दुई धार यहाँ छ। यसबारे कान्तिपुरमा २०६८ सालमा फरक धारका प्रतिनिधिहरुको अन्तर्वार्ता छापेको थियो। सान्दर्भिक भएकोले त्यही यहाँ साभार गरिएको छ-



११ महिने पात्रोको पक्षमा
जयन्त आचार्य, उपप्राध्यापक, बाल्मिकी क्याम्पस

के हो पर्व सुधार ?

हाम्रा चाडपर्वहरू पहिले आकाशीय ग्रहसँग ठयाक्क मिल्थे, करिब १ हजार वर्षदेखि मिल्न छाडेकाले यसमा सुधार आवश्यक परेको हो । हरेक ७२ वर्षपछि १ दिन घट्छ । यस हिसाबले अहिले हामी २४ दिन पछाडि छौं । चैत ७ गते नै नयाँ वर्ष हुनुपर्ने ढिलो भइसक्यो ।
सुधार नहुँदा कस्ता असर परेका छन् ?
धेरै असर परेको छ । जस्तैः साउन १ गतेबाट पृथ्वी दक्षिणतिर जान्छ । त्यही दिन हामी लुतो फाल्ने संक्रान्ति मनाउँछौं । तर अहिले तिथिका आधारमा यो अगाडि सरेर असार सातमा पुगेको छ । त्यस्तै माघ १ गतेदेखि पृथ्वी उत्तरतिर लाग्छ, तर माघे संक्रान्ति पुस ७ गते नै सरिसकेको हुन्छ । त्यस्तै वैशाख १ गते दिन र रात बराबर हुने दिन चैत ७ गते पुगेको छ ।
यसले के बिगारेको छ र ?
अहिले केही पनि हुन्न, तर कालान्तरमा बिगि्रने क्रम बढ्दै जानेछ । जाडो साउन, भदौमा हुनेछ भने पुस, माघमा वर्षा हुनेछ । त्यस्तै, शास्त्रीय मान्यता खलबलिनेछ । उत्तरायणमा गरिने कर्म दक्षिणायनमा सर्नेछन् । यो एक-अर्काको विपरीत हुनेछ । यो बुझ्न हाम्रो मुलुककै प्रहरीको पोसाक नीति गतिलो उदाहरण हो । अहिले प्रहरी लगायतका सुरक्षाकर्मीले कात्तिक १ बाट जाडोको लुगा लाउँछन्, फागुन मसान्तसम्म । केही वर्षअघि कात्तिक १५ देखि मात्रै लाउँथे । त्यस्तै, निजामती सेवामा हिउँद र गर्मीको कार्यालय समयको नीति पनि यसरी नै सारिसकिएको छ । यो पनि एउटा असर हो ।
यो हाम्रोमात्र किन टाउको दुखाइ, संसारमा अरूको पनि बिगि्रएको होला नि ?
अवश्य तर पश्चिमा मुलुकहरूमा पहिले नै मिलाइसकेको छ । युरोपमा १५ औं शताब्दीको मध्यतिर इस्वी संवत् सुधार गरिएको थियो । बेलायत, जर्मनी, रसिया आदि मुलुकले त्यसबेला नै मिलाइसके र अंग्रेजी क्यालेन्डरमा प्रत्येक वर्ष २० मिनेटका दरले मिलाउने पद्धति अपनाएको देखिन्छ ।
नेपालमा किन विरोध भयो ?
नबुझेर, धेरैले खगोलशास्त्र बुझेकै छैनन् ।
पञ्चाङ्ग निर्णायक समितिले पनि विरोध गर्‍यो नि ?
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नै ज्योतिष नपढेका मान्छे हुन् । अझ यस विषयमा बुझ्न त गणित ज्योतिषको ज्ञान हुनु आवश्यक छ ।
सबै ज्योतिष एउटै होइन र ?
होइन, ज्योतिष दुई किसिमका छन्- गणित ज्योतिष र फलित ज्योतिष ।
यी दुईमा के फरक छ ?
गणित ज्योतिषले गणनाको काम गर्छ । जस्तो- ग्रहण कहिले हुन्छ ? कुन ग्रह कहिले उदाउँछ, अस्ताउँछ आदि । फलित ज्योतिषीलाई पात्रो गणना गर्ने र्फमुला आदि दिने काम गर्छ भने फलित ज्योतिषले फलादेश गर्ने गर्छ । यसलाई र्फमुला कसरी बन्छ, कुन तारा हो, कुन ग्रह हो आदि केही थाहा हुँदैन ।
देशभरिका ज्योतिषी संस्थाहरूले विरोध गरेका छन् नि ?
नेपालका ज्योतिषी संस्थाहरूले विरोध गरेका छन् ।
किन विरोध गरेका हुन् ?
नेपालमा जति पनि ज्योतिषी संस्थाहरू छन्, ती सबै फलित ज्योतिषसँग सम्बन्धित छन् । गणना पद्धति नयाँ आउँछ । फलित ज्योतिषीहरू यो सुधार भयो भने आफूले गर्दै आएको ज्योतिष पेसामा कसरी परिवर्तन गर्ने भन्ने भएर विरोध गरेका हुन् । उनीहरू यो परिवर्तन गरेपछि आफ्नो फलादेशमा नमिल्ने हुन्छ कि डरले यसको विरोधमा लागेका छन् । जुन कुरा सत्य होइन । परिवर्तनपश्चात् उनीहरूको फलादेश अझ सूक्ष्म हुन जान्छ र अझ धेरै मिल्ने हुन्छ ।
त्यसो हो भने किन विरोध गरेका हुन् त ?
एक, नबुझेर । अर्को, उनीहरूसँग चिना-टिपन बनाउने सफ्टवेयर छ, जसमा परिवर्तन गरेपछि कसरी गर्ने भन्ने डरले विरोध गरेका हुन् ।
मिलाउने नाममा एक महिना नै लोप गर्न खोज्नुभएको छ ? कसरी ?
होइन कुनै पनि महिना लोप हुने होइन, यसलाई एउटा उदाहरणबाट बुझौं, जस्तो एक जना मानिसको घडी एक घन्टा ढिलो चलिरहेको छ । कुनै दिन उसलाई थाहा भयो कि घडी ढिलो छ । त्यस दिन उसले त्यो घडीलाई ठीक बनाउँदा त्यस मानिसका लागि त्यो दिन २३ घन्टाको दिनरात हुन्छ कि २४ घन्टाको दिनरात हुन्छ । वास्तवमा २४ घन्टाकै दिनरात हुन्छ । तर त्यस मानिसका लागि त त्यस घडीमा २३ घन्टाको दिनरात भयो नि हो यस्तै हो हामीले बुझ्दा एक महिना लोप भएजस्तो भए पनि वास्तवमा लोप हुनै सक्दैन र हुँदैन ।
तपाईंहरू अधिकमासलाई साधारण महिना मान्ने भन्नुहुन्छ । के यो शास्त्रसम्मत छ ?
हो, यस तरिकामा पहिलो वर्ष अधिकमासलाई साधारण मास मान्ने भनिएको छ र यो शास्त्रसम्मत नै हो । पहिले पनि अधिकमासलाई साधारण महिनासरह मानिएका उदाहरण शास्त्रमा नै भेटिन्छन् ।
पहिले-पहिले मिलाएको इतिहास भेटिन्छ ?
भेटिन्छ । भारत वर्षका विद्वान् आर्यभट्ट, बराहमिहिरले यसको ज्ञान गरी मिलाएको उदाहरण छ ।
विक्रम संवत् हटाई इस्वी संवत् लगाउन खोजिँदै छ रे ?
यसको म पनि विरोधी हुँ । विक्रम संवत् नै लागू हुनुपर्छ । तर यसलाई सुधार्नुपर्छ भन्ने हाम्रो धारणा हो ।


‘२०७२ साल ११ महिने हुन दिन्नौं’
प्रा.डा.माधव भट्टराई,तत्कालीन अध्यक्ष, पञ्चाङ्ग निर्णायक समिति
पर्व सुधार कार्यदलको प्रतिवेदनप्रति सहमत हुनुहुन्छ ?
छैन । यसले धार्मिक, सांस्कृतिक परम्परालाई खलल पार्छ ।
खगोलशास्त्रीहरूले विक्रम संवत् २४ दिनअघि पुगिसक्यो भनेका छन्, सुधार्नुपर्ने बेला त भयो नि ?
त्यो त हाम्रो पुर्खालाई पनि थाहा भएको कुरा हो । म पनि स्विकार्छु । तर एक दिन समय फर्केर ठीक टाइममा आउँछ । पेन्डुलमजस्तो आफैं ठीक ठाउँमा आउँछ । तर धार्मिक निर्णय हुनुपर्छ । यो विषयमा धर्मसिन्धु लगायतका धार्मिक पुस्तकमा हजार वर्षअघि लेखिएको छ ।
किन विरोध भयो ?
विक्रम संवत् हटाई इस्वी संवत् लगाउन खोजिँदै छ, त्यसैले विरोध भएको हो । विक्रम संवत् निश्चित समुदायको मात्र होइन, यो सबै जातजातिको संवत् हो । थारू समुदायले माघी मनाउने होस् वा गुरुङको ल्होसार यसै संवत्मा आधारित छ । अर्को कुरा, यसको नेतृत्व गर्नेहरू गैर-खगोलशास्त्री पनि भए । त्यस्तै, सरकारको काम पर्व सुधार्ने होइन । यो काम धर्मगुरुहरूको जिम्मा छाडिनुपर्छ । सरकारले विकास गर्ने हो । पञ्चाङ्ग निणर्ायकसँग समानान्तर हुने कमिटी बनाउने होइन ।
आगामी २०७२ सालमा मलमास छ । त्यो वर्ष ११ महिनाको बनाउने हल्ला छ नि ?
म हुन दिन्न । म रहुँला वा नरहुँला । मलाई मान्नेहरूले पनि त्यो लागू गर्न दिने छैनन् ।



-mysansar

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस