२० बर्ष कैद तोकिएका नेपाली नागरिकलाई अफगान राष्ट्रपतिले दिए क्षमादान

काबुल, असार ३० सुवेल भण्डारी 
विगत दुई वर्षदेखि अफगानिस्तानमा जासुसीको आरोपमा २० वर्ष कारावासको सजाय भोगिरहेका नेपाली नागरिक तिलकबहादुर थापामगरलाई अफगानिस्तानका राष्ट्रपति हामिद कारजाईले क्षमादान दिएका छन्। कारागारमुक्त हुनासाथ उनलाई अफगान अधिकारीहरुकै रोहोबरमा एयरपोर्टसम्म ल्याएर विशेष 'प्रस्थान
भिसा' लगाएर उडाइएको थियो। थापा दुवई हुँदै आज काठमाडौ झर्दैछन्।
तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मानवीय आधारमा थापामगरलाई आममाफीको लागि कारजाईलाई पत्र लेखी औपचारिक अनुरोध गरेका थिए। मे महिनामा अफगानिस्तान-पाकिस्तानका लागि ईस्लामाबादमा रहेका नेपाली राजदुत भरत पौडेलले कारजाईलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा थापामगरको क्षमादान र रिहाईको लागि अनुरोध गर्दै उक्त नेपाल सरकारको अनुरोध पत्र बुझाएका थिए।
पौडेलले थापामगरको रिहाईको लागि विशेष भूमिका खेलेका थिए। उक्त भ्रमणमा उनले थुप्रै महान्याधिवक्तालगायत अफ्गान अधिकारीहरुलाई भेटी थापाको रिहाईमा पहल गरिदिन आग्रह गरेका थिए। कारागारमुक्त भएपछि पौडेलले थापामगरसँग फोनमा कुरा गरेका थिए। 
थापामगरको रिहाईपछि ईस्लामाबादस्थित राजदुतावासबाट जारी एक प्रेस विज्ञप्तिमा आफ्गान सरकार र कारजाईलाई आभार ब्यक्त गर्दै भनिएको छ,'सुमधुर सम्वन्ध रहेको दक्षीण एसियाली मित्रराष्ट्र नेपालको नागरिकलाई मानवताको आधारमा सहानुभूतिपूर्वक क्षमादान प्रदान गर्ने मित्रराष्ट्र अफ्गानिस्ताका महामहिम राष्ट्रपति तथा उहाँको सरकारप्रति नियोग हार्दिक कृतज्ञता प्रकट गर्दछ।'
तनहुँका थापामगर आफ्गानिस्तानमा विगत ७ बर्षदेखि रहेका थिए। अप्रिल १९, २०११ मा हेल्माण्ड प्रान्तमा रहेको उनले काम गर्ने 'कन्ट्रयाक्ट' कन्स्ट्रक्सन कम्पनीबाटै उनी गिरफ्तार भएका थिए। आफ्गानिस्तानको शक्तिशाली जासुसी संस्था नेशनल डिरेक्टोरेट अफ ईन्टेलिजेन्स (एनडिएस) का अधिकारीले उनीसहित एक पाकिस्तानी र दुई आफ्गानलाई पाकिस्तानी जासुसी संस्था आईएसआईलाई ईमेलमार्फत "टिप्स र सूचना" चुहाउने काम गरेको  आरोप लगाएका थिए।
जसमा हेलमान्डको प्रान्तीय अदालतले पहिले १६ वर्ष कैद सजाय तोकेको थियो। थापामगरलाई थाहै नदिई, र कुनै वकिल उपलब्ध नगराईकन सर्चोच्चम पुगेको उक्त मुद्दा सर्बोच्चका न्यायाधिसले थप ४ वर्ष गरि २० बर्षको कैद तोकेका थिए। हेल्माण्डस्थित जेलमा कैद सजाय भोगिरहेका थापालाई राजदूत पौडेलले अनुरोध गरेको भोलिपल्टै काबुलस्थित तौकिफ भनिने डिटेन्सन् सेन्टरमा ल्याइएको थियो। गत हप्तादेखि उनी छुट्ने क्रममा आफ्गान जासुसी संस्थाको विशेष गेष्ट हाउसमा रहेका थिए।
थापामगर सधै उक्त आरोपको खण्डन गर्दै आफू निर्दोष रहेको बताउँछन्। पुछपाछको क्रममा स्थानीय भाषामा लेखिएको कागजातमा आफ्गान अधिकारीहरुले सही गर्न लगाएको र त्यो, पछि मात्रै अपराधको कबुल स्वीकारोक्ति रहेको थाहा भएको बताउँछन्। 
केही वर्षयता पाकिस्तान र अफ्गानिस्ताको सम्बन्ध निकै चिसिएको छ। अफ्गानिस्तानले पाकिस्तानलाई युद्धरत तालिबानको सहायता, समर्थन र सुरक्षित भूमि प्रदान गरेको आरोप लगाउँदै आएको छ, जुन पाकिस्तानले खण्डन गर्छ। अफ्गानिस्तान विगत १० बर्षदेखि तालिवानबिरुद्ध युद्ध गर्दै आएको छ। पाकिस्तान प्रति अफ्गानिस्तान शुरुदेखि नै शंकालु रहँदै आएको छ। पाकिस्तान १९९६ मा विद्रोही तालिबवानको सरकारलाई बैधानिकता दिने पहिलो देश थियो। अफ्गानिस्तानको पूर्वी र दक्षिणको हजारौ किलोमिटर सिमाना पाकिस्तानसँग जोडिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस